बझाङ, २ मङ्सिर (रासस) : विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ । अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिँएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिनुभयो । उक्त विद्यालय २०५४ मा स्थापना भएको हो । हाल विद्यालयमा छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन् ।
“पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्र्स सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गए”, प्रधानाध्यापक जोशीले भन्नुभयो, “रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भन्नुभयो, रित्तै फर्किए ।” विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ । विद्यार्थी खुला रुपमा शौच गर्दैआएका छन् । जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताउनुहुन्छ । नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ हुनुहुन्छ ।
बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमावीको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नुपरिरहेको छ । प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन् । “घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ”, उहाँले भन्नुभो, “घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ ।”
वर्षाका कारण बाढीपहिरोले जिल्लाभरी ६५ विद्यालयमा आशिंक क्षति भएको छ । दुई विद्यालयमा पूर्णरुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिनुभयो । भौतिक संरचनातर्फ रु १० करोड ८१ लाख बराबरको क्षति भएको छ ।
यो पनि- मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।
प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।
एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।



प्रतिक्रिया