इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो

इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास (इसिडी)का सहजकर्ताले सेवा सुविधाको माग राखेर कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणका लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षकका तलब सुविधा अब स्थानीय सरकारले खुवाउने गरी मुलुकभर परिपत्र जारी गरेको हप्ता दिन नबित्दै इसिडी सहजकर्ता आन्दोलनमा उत्रेका छन् । शिक्षकहरु तलबभत्ता नपाएको भन्दै विद्यालयमा रहेका इसिडी कक्षा धमाधम बन्द गर्दै गइरहेका छन् ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको आदर्श गाउँपालिका र कर्णली प्रदेशको हुम्ला जिल्लाको सर्कैगार्ड गाउँपालिकाका इसिडी शिक्षकको आन्दोलनबाट इसिडी कक्षा बन्द भएकाले सम्बन्धित पालिकाको प्रतिनिधि र जिल्ला इसिडी शिक्षकको सङ्घर्ष समितिका संयोजकबीच छलफल गराई दुवै जिल्लाका इसिडी कक्षा पुनः सञ्चालन गराउन महासङ्घका सदस्य समितिलाई आग्रह गरिएको जनाउनुभयो । उहाँले कक्षा सञ्चालनको दायित्व आफूहरुको हुन आएकाले सम्बन्धित प्रदेश समितिको पहल सहजीकरणमा कक्षा नियमित सञ्चालन गराउन आग्रह गर्नुभयो ।

यो पनि – शैक्षिक सामग्रीमा नमूना ‘बालसिद्ध प्रावि’

रामपुर (पाल्पा), २ मङ्सिर (रासस) ः शिक्षण कार्यलाई प्रभावकारी बनाउन बालसिद्ध प्राथमिक विद्यालयले शैक्षिक सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ । सैद्धान्तिक ज्ञान सीपसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिँदै यस विद्यालयले शैक्षिक सामग्रीको प्रर्याप्त प्रयोग गरी शिक्षण कार्य गरिरहेको छ ।रामपुर नगरपालिका– १० मा रहेको यस विद्यालय नमूना शैक्षिक सामग्री प्रयोग गर्ने उत्कृष्ट विद्यालयका रुपमा चिनिएको छ । यहाँ स्थानीयस्तरमा उपलब्धस्रोत सामग्रीबाट शैक्षिक सामग्री निर्माण गरी कक्षाकोठामा प्रयोग गर्ने गरिएको छ ।

स्थानीयस्तरकै स्रोतसाधन प्रयोग गरी विद्यालयमा प्रयोग गर्दा शिक्षण कार्य प्रभावकारी बनेको विद्यालयका प्रधानाध्यापक लेखप्रसाद श्रेष्ठले बताउनुभयो । “गाउँघरमा पाइने विभिन्न वस्तुलाई मिलाएर शैक्षिक सामग्री बनाउने गरिएको छ, गाउँमा नपाइने अति आवश्यक किन्नैपर्ने सामग्री मात्र खरिद गरिन्छ, अरु सबै स्थानीय सामग्री नै छन्”, उहाँले भन्नुभयो, “स्थानीय वस्तुबाट बनाइएका शैक्षिक सामग्री विद्यार्थीले छिटो पहिचान गर्नसक्ने हुँदा पढाइप्रति आकर्षित हुने गरेका छन् ।”स्थानीयस्तरका वस्तुलाई शिक्षक आफैले शैक्षिक सामग्री बनाएर कक्षाकोठामा प्रयोग गरिएको छ । किताबी ज्ञानको तुलनामा शैक्षिक सामग्रीको प्रयोगले ५० प्रतिशत सिकाई छिटो बुझ्ने गरेको प्रधानाध्यापक श्रेष्ठको अनुभव छ । बजारमा उपलब्ध शैक्षिक सामग्री खरिद गर्न धेरैखर्च लाग्नुका साथै विद्यार्थीको पनि बजारका सामग्रीमा भन्दा स्थानीयस्तरकै सामग्रीमा आकर्षण बढ्ने गरेको पाइन्छ ।

गाउँघरका वस्तुबाट बनाइएका शैक्षिक सामग्रीबाट विद्यार्थीलाई ज्ञान सीप बुझाउन सजिलो परेको शिक्षक विष्णु भट्टराईले बताउनुभयो । यहाँ रिङ्गेम बोर्ड, साइकल गेम, अङ्कर अक्षर बोर्डलगायतका स्थानीयस्तरबाट बनाइएका ३० प्रकारका शैक्षिक सामग्री छन् । बिरामीको एक्सरे कार्ड, बिग्रिएका क्याल्कुलेटर, माटोका गुच्छा, मसी सकिएका कलम, झिँजालगायतका विभिन्न सामग्रीबाट शैक्षिक सामग्री तयार पारिन्छ ।

घर वरपर पाइने विभिन्न सामग्री आफैले देखेका वा प्रयोग गरेको हँुदा यसबाट तयार पारिएका शैक्षिक सामग्री विद्यार्थीले छिटो बुझ्ने गर्छन् । पाठ अनुसार हरेक दिन विभिन्न शैक्षिक सामग्री साथमा ल्याएर शिक्षकले पढाउदा बुझ्न सजिलो परेको कक्षा ३ मा अध्ययनरत छात्रा दिया सुनारले बताउनुभयो । यस विद्यालयमा कक्षा नर्सरीदेखि ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । यस शैक्षिक सत्रमा हाल ६५ जना विद्यार्थी छन् । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा रहेको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित समुदायका छन् भने केही जनजाती समुदायका भेटिन्छन् ।

विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न यहाँका शिक्षक आफैले विभिन्न प्रकारका शैक्षिक सामग्री बनाएर कक्षाकोठामा नियमित गरिरहेका छन् । यहाँ स्थानीय वस्तुबाट तयार पारिएका शैक्षिक सामग्री अवलोकन गर्न जाने गर्दछन् । शैक्षिक सामग्री प्रयोगमा रामपुर नगरपालिकाभित्र प्राथमिक तहमा हेर्न लायकको नमूना विद्यालय रहेको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । नमूना शैक्षिक सामग्री प्रयोग गरेकाले गतवर्ष नगरपालिकाले कार्यसम्पादन अनुदान शीर्षकमा रु ५० हजार रकम सहयोग गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शैक्षिक सामग्री प्रयोग गर्ने नमूना विद्यालयमा परेको छ, यस विद्यालयमा नगरपालिकाका प्रावि तहका प्रअ र शिक्षकलाई अवलोकन भ्रमण गराउने योजना छ, शैक्षिक सामग्रीको अवलोकन भ्रमण गर्न लायकको विद्यालय छ, यहाँको सिको अरु विद्यलायले पनि गर्नु आवश्यक छ ।”

रामपुर नगरपालिकाभित्र सामुदायिक ५१, संस्थागत नौ विद्यालय छन् । गाउँघरमा पाइने सामग्री भएकाले विद्यार्थीले शिक्षणकार्य छिटो बुझ्ने गरेका छन् । घर वरपर खेर गएका तथा स्थानीय सामग्रीलाई सही ठाउँमा प्रयोगमा ल्याउन सकियो भने अर्कोतर्फ बजारका शैक्षिक सामग्री महँगो मूल्यमा खरिद गर्ने झण्झट पनि हट्नेछ । बालबालिकाको पढाइमा सैद्धान्तिक ज्ञान मात्र नभइ प्रयोगात्मक अभ्यास जरुरी छ । शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाले छिटो ज्ञान सीप सिक्ने र उनीहरु पढाइप्रति आकर्षित हुनेछन् । किताबी ज्ञानसँगसँगै बालबालिकाको पढाइमा प्रयोगात्मक सिकाइ महत्वपूर्ण मानिन्छ ।

हिजोआज धेरै विद्यालयले कक्षाकोठामा अनिवार्यजसो पाठ्भार अनुसारका शैक्षिक सामग्री प्रयोग गर्ने गरेको पाइन्छ । गाउँघरमा पाइने विभिन्न वस्तुबाट उत्पादन गरिएका र बजारमा आएका शैक्षिक सामग्री खरिद गरी आवश्यकता अनुसार प्रयोग गरिँदै आएका छन् ।