अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ । गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इञ्जीनियर सन्तोष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बीस किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो । मान्छे हिँड्ने बाटोसमेत थिएन । हामीले टोप्लासम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौँ । अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइने छ ।”त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ । साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्र गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ ।

यो पनि – दुर्घटनामा ट्र्याक्टर चालकसहित दुईको मृत्यु

उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् । दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश२–०१–००१–त १०८३ नंको ट्र्याक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि- चितवनमा दुई हजार ५०० हेक्टरको धानबालीमा क्षति

एक महिनाअघि परेको अविरल वर्षाका कारण जिल्लामा दुई हजार ५९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार खैरहनीमा ७२८.०६ हेक्टर, रत्ननगरमा ७०१.३३ हेक्टर, भरतपुर महानगरमा ४१६.६६ हेक्टर, राप्तीमा ३०६.५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८.६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार २८१ हेक्टरमा धानखेती हुँदै आएको छ ।

गत असोज २९ देखि लगातार चार दिनको झरिले पाकेको धान खेतमै डुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो । उहाँले समग्र धानबालीमा ९.४९ प्रतिशत नोक्सान भएको बताउनुभयो । उन्नत र हाइब्रिडजातका धानबालीमा असर पुगेको छ । उहाँले भन्नुभयो, “ नौ हजार ७० मेट्रिक टन धान खानै अयोग्य हुने गरी नष्ट भएको छ ।” विगतका वर्षमा जिल्लामा एक लाख ५ हजार ८४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । सो वर्षाले अधिकांश धानबालीमा असर परेको छ । आंशिक ढलेको, भिजेको र डुबेको विवरणको एकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सातवटै स्थानीय तहबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।” प्रति क्विन्टल रु दुई हजार ८०० का दरले अनुमान गर्दा करिब रु २५ करोड ४० लाख मूल्य बराबरको नोक्सान भएको योजना अधिकृत अर्यालले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले क्षतिका आधारमा किसानले राहत पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले राहत दिने घोषणा गरिसकेको छ, कार्यविधि आउनसाथ स्थानीय तहमार्फत राहत वितरण हुन्छ ।” क्षतिको वर्गीकरण गरेर राहत वितरण गरिने उहाँले बताउनुभयो । उत्पादन लागतका आधारमा पूर्ण क्षति भएका धानबालीमा १० कट्ठासम्म ६५ प्रतिशत, ११ देखि ४० कट्ठासम्म ३९ प्रतिशत, ४१ कट्ठा बढीमा २० प्रतिशतसम्म राहत दिने सरकारको तयारी छ । यस्तै आंशिक क्षति भएको हकमा उत्पादन लागतको २० प्रतिशत राहत दिने तयारी छ ।