काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।

यो पनि – अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ । गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इञ्जीनियर सन्तोष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बीस किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो । मान्छे हिँड्ने बाटोसमेत थिएन । हामीले टोप्लासम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौँ । अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइने छ ।”

त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ । साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्र गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ ।