आज थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज देशभरमा गरी थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो । आज २६० जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमित सात हजार ६४२ रहेका छन् । नेपालमा सङ्क्रमणदर १८ प्रतिशत रहेको छ ।

नेपालमा ५०० भन्दाबढी सङ्क्रमित जिल्ला काठमाडौँ र ललितपुर रहेको मन्त्रालयले जनाएको छ । दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् । अहिले होम आइसोलेसनमा सात हजार १६९, संस्थागत आइसोलेसनमा ४७३, सघन उपचार कक्षमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । आज ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा ८९ लाख ९६ हजार २५३ जनाले र दोस्रो मात्रा ७७ लाख १३ हजार ४०९ जनाले लगाएका छन् ।

मन्त्रालयका अनुसार आज पाँच जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट रहेका छन् । पछिल्लो २४ घण्टामा थप छ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८९ पुगेको छ ।

यो पनि – चितवनमा दुई हजार ५०० हेक्टरको धानबालीमा क्षति

एक महिनाअघि परेको अविरल वर्षाका कारण जिल्लामा दुई हजार ५९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका अनुसार खैरहनीमा ७२८.०६ हेक्टर, रत्ननगरमा ७०१.३३ हेक्टर, भरतपुर महानगरमा ४१६.६६ हेक्टर, राप्तीमा ३०६.५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८.६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार २८१ हेक्टरमा धानखेती हुँदै आएको छ ।

गत असोज २९ देखि लगातार चार दिनको झरिले पाकेको धान खेतमै डुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो । उहाँले समग्र धानबालीमा ९.४९ प्रतिशत नोक्सान भएको बताउनुभयो । उन्नत र हाइब्रिडजातका धानबालीमा असर पुगेको छ । उहाँले भन्नुभयो, “ नौ हजार ७० मेट्रिक टन धान खानै अयोग्य हुने गरी नष्ट भएको छ ।” विगतका वर्षमा जिल्लामा एक लाख ५ हजार ८४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । सो वर्षाले अधिकांश धानबालीमा असर परेको छ । आंशिक ढलेको, भिजेको र डुबेको विवरणको एकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सातवटै स्थानीय तहबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।” प्रति क्विन्टल रु दुई हजार ८०० का दरले अनुमान गर्दा करिब रु २५ करोड ४० लाख मूल्य बराबरको नोक्सान भएको योजना अधिकृत अर्यालले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले क्षतिका आधारमा किसानले राहत पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले राहत दिने घोषणा गरिसकेको छ, कार्यविधि आउनसाथ स्थानीय तहमार्फत राहत वितरण हुन्छ ।” क्षतिको वर्गीकरण गरेर राहत वितरण गरिने उहाँले बताउनुभयो । उत्पादन लागतका आधारमा पूर्ण क्षति भएका धानबालीमा १० कट्ठासम्म ६५ प्रतिशत, ११ देखि ४० कट्ठासम्म ३९ प्रतिशत, ४१ कट्ठा बढीमा २० प्रतिशतसम्म राहत दिने सरकारको तयारी छ । यस्तै आंशिक क्षति भएको हकमा उत्पादन लागतको २० प्रतिशत राहत दिने तयारी छ ।