अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ ।  बारले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त आग्रह गरेको हो । मूल ढोकामा धर्ना दिँदै आएका कानून व्यवसायीलाई आज सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरी रोक्न खोज्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते हुनुभएको थियो भने बारका केन्द्रीय सदस्य प्रकाश मर्हजन गम्भीर घाइते हुनुभएको थियो । उहाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी, सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरे, अधिवक्ता कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र गोपाल सापकोटा घाइते भएको बारले जनाएको छ । बारले अदालतमा भएको विकृति विसङ्गतिको अन्त्य गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्नुपर्ने, गोला प्रक्रियाबाट पेसी तोक्नुपर्नेलगायतका माग राख्दै विरोध कार्यक्रम गर्दै आएको छ ।

यो पनि – सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ

सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । तीमध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र डा कुमार चुँडालको संयुक्त इजलास, न्यायाधीश टङ्कबहादुर मोक्तान र कुमार रेग्मीको संयुक्त इजलास, न्यायाधीश तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबैखालको मुद्दामा सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश राणाले आज नौवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको थिएन । पेसीमध्ये एउटा पूर्ण इजालास, सात वटा संयुक्त र एउटा एकल इजलासमा रहेको थियो ।गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशमाथि विभिन्न प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुँडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहनुभएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमतिरुपमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

यो पनि – सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोक्नुभएको छैन । तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधानन्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो ।