राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका कामलाई तीव्रता दिइएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिनुभयो ।
भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने उहाँको भनाइ छ । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”
सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने संयोजक गैरेले बताउनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।
संयोजक गैरेका अनुसार जिल्लामा पार्टीका सङ्गठित सदस्यको सङ्ख्या आठ हजार ७०२ पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
यो पनि – सम्मानजनक सहभागितासहित सरकारमा जाने केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित सरकारमा जाने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिनुभयो ।
“आज बसेको बैठकमा माओवादीको सम्मानजनक सुनिश्चिततासहितको सहभागिता खोज्ने जिम्मा दलको नेता शाहीलाई दिने निर्णय गरिएको छ”, प्रमुख सचेतक विष्टले भन्नुभयो, “यस विषयमा उहाँ (दलको नेता)ले सत्ता गठबन्धन दलभित्र छलफल गर्नुहुन्छ ।” माओवादी केन्द्रले मुख्यमन्त्री शाही नियुक्त भएदेखि चार मन्त्रीको सुनिश्चितता खोज्दै आएको र आज पनि त्यसैमा टेकेर निर्णय गरिएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहीले तदारुकता देखाउनुपर्दछ । माओवादीका सकेसम्म नयाँ अनुहारका प्रदेशसभा सदस्य सरकारमा जाने जनाउँदै प्रमुख सचेतक विष्टले आजको बैठकमा जनजीविकाका सवाललाई केन्द्र राखेर छलफल भएको जनाउनुभयो ।
सरकार गठनका लागि सत्ता गठबन्धन दलको नेतृत्वको गरिरहेको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् । प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन् ।



प्रतिक्रिया