नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनअन्तर्गत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा सभापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भए पनि उपसभापति, सचिव, सहसचिव र महाधिवेशन प्रतिनिधिलगायतका पदमा सहमति नजुटेपछि मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो ।
वर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ, पूर्व सहसभापति नेत्रबहादुर महतले एकैसाथ मतदान गरेपछि अहिल्यै मतदान प्रक्रिया जिसस सभाहलमा चलिरहेको छ । निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीका अनुसार दुई जना निर्वाचित हुने उपसभापति पदमा कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मीनबहादुर कार्की र कमल छन्त्याल प्रतिस्पर्धामा रहनुभएको छ ।
त्यसैगरी दुई जना निर्वाचित हुने सचिव पदमा भरत ढकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुवेदी र हिराबहादुर पुन प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै दुई निर्वाचित हुने सहसचिव पदमा श्रीराम पौडेल, ध्रुवराज कार्की र कोमलप्रसाद उपाध्याय प्रतिस्पर्धामा हुनुहुन्छ । दश जना खुला महाधिवेशन प्रतिनिधिमा १८ जना उम्मेदवार प्रस्तिपर्धामा छन् । एक नगरपालिका र पाँच गाउँपालिकाबाट सहभागी ७३५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।
यो पनि – वडा अधिवेशनको तयारीमा माओवादी केन्द्र
राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका कामलाई तीव्रता दिइएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिनुभयो ।
भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने उहाँको भनाइ छ । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”
सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने संयोजक गैरेले बताउनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।
संयोजक गैरेका अनुसार जिल्लामा पार्टीका सङ्गठित सदस्यको सङ्ख्या आठ हजार ७०२ पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
प्रतिक्रिया