ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो पनि – रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु
यहाँ बस दुर्घटना हँुदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ । एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
यो पनि – ग्यास उद्योगलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।
प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।
दुई पालिकामा आज सार्वजनिक बिदा
कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिनुभयो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।



प्रतिक्रिया