आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । “ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन्,” मौसमविद् सापकोटाले भन्नुभयो ।

हाल देशको प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ । दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका भूभागहरुमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव एक डिग्री र अधिकतम तापक्रम २२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

यो पनि – आज कमला नदीमा अनौठो भूत मेला हुँदै

धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो भूत मेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर तथा जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् ।

कमलामा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्न गाउँघरबाट आज बिहानैदेखि भक्तजन कमला नदीको तटमा पुगेका छन् । कतिपयले कार्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालु बताउँछन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै–यस्तै आ–आफना इष्टदेवताको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा शपथग्रहण गर्न पुगेका हुन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमानम चारनाथ नगरपालिकाको गोदार बस्ने भरत साह बताउँछन् । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरू आफूमा आएको देउतालाई सिद्ध गर्न गङ्गास्नान गर्न आएका बताउँछन् ।

धामी, झाँक्री मादल, करताल, झाइल र ढोलपिपहीको सुर तथा तालबीच यिनीहरूको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण हेर्न सकिन्छ । स्नानको समयमा मूल धामीले लोकभाकामा गीतसमेत गाउने गर्छन् । त्यसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ । आफ्नो गाउँमा धामीलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका धनुषाका धामी रामसागर ठाकुर शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउँछन् । तराई–मधेसमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाँक्रीसँग आशीष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन् ।