धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको छ”, उहाँले भन्नुभयो, “हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।”
नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहनुभएका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराउनुभएको हो ।
नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गर्नुभएको थियो ।
छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी करिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोर्टसका रुपमा अघि बढाउन सके धौलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राख्नुभएका थिए ।
विसं २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्टमण्डप एन्ड उमा जेभीले जनाएको छ ।
यो पनि -चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी
हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ । चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ ।
यहाँको बडीमालिका नगरपालिका–९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको बताउनुभयो । तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन् । उनीहरु जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैँ तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरु भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।
चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामीले राससलाई बताउनुभयो । विद्यालयमा मङ्सिरको पहिलो सातातिर हिउँ पर्ने सुरु हुन्छ, अहिले चिसो बढ्न थालेको छ । दसँैतिहारपछि विद्यालय सञ्चालन भएको र त्रैमासिक परीक्षा पनि आउन थालेकाले चिसो बढेको भए पनि पढाउनुपर्ने बाध्यता छ । त्यसैले विद्यालयको चौरमा आगो बालेर विद्यार्थीलाई अध्ययन गराउने गरेको प्रअ धामीको भनाइ छ ।
विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी राम्रोसँग लुगासमेत नलगाएर खाली खुट्टा आउने गरेका छन् । उनीहरुलाई चिसो छल्न न टोपी हुन्छ, न ज्याकेट ! चिसोमा पढाउने कार्य उनीहरुका लागि निकै कष्टकर हुने गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा अधिकांश जनजातिका बालबालिका पढ्न आउँछन् । केही बालबालिका विद्यालयको पढाइ छोडेर चिसो छल्नका लागि आमाबुबासँग बेँसीतिर झरिसकेका छन् ।
वडाको पहलमा भवन शौचालय बन्ने भए पनि भवनभित्र पनि चिसो हुने गरेकाले जाडोको समयमा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको विद्यालयका प्रअ धामीले बताउनुभयो । चिसोबाट बच्नका लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसिडिसी भएको भए पढाइ प्रभावित नहुने शिक्षकहरूले बताएका छन् ।
चिसो छल्नलाई विद्यार्थीका लागि टोपी, मोजा, ज्याकेट स्वेटरजस्ता न्यानो लुगाहरूको आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले बताउनुभयो । विद्यालयमा हिउँ परेका बेलामा हिउँमै पढाइ हुने गरेको छ ।
शिक्षा समन्वय एकाइ बाजुराका अनुसार बाजुरामा २७१ विद्यालयमध्ये एक सय विद्यालय हिमाली क्षेत्रमा पर्छन् । चिसो मौसमका बेला जिल्लाका माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।



प्रतिक्रिया