योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनुहुने भएको छ । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उहाँहरु यहाँ आउनुहुने भएको आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिनुभयो । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उहाँहरु यहाँ आउन लाग्नुभएको सुवेदीले बताउनुभयो ।
“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उहाँले भन्नुभयो, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।
यो पनि – योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने
योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने हुनुभएको छ । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आउनुभएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिनुहुने भएको हो । शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।
बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्नुहुने कार्यक्रम छ । सोही बखत उहाँले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्नुहुने कार्यक्रम छ । योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भन्नुभएको थियो । उहाँले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताउनुभयो । नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उहाँले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताउनुभयो । शनिबार नै उहाँले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।
यो पनि – सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ । यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन् । ती मेला अर्थात् जात्राका लागि जिल्ला बाहिर तथा कामका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएका यहाँका नागरिक अहिले आ–आफ्ना गाउँ फर्किएका छन् । कामका लागि जिल्ला बाहिर गएका नागरिक गाउँ फर्किएका कारण यहाँका गाउँघर रमणीय बनेका शिखर नगरपालिका–२ का शेरबहादुर बोगटीले बताउनुभयो ।
ठूला चाड दसैँ, तिहार सकिएसँगै यहाँका पहाडी जिल्लामा जात्राको रौनक छाएको हो । कात्तिक शुक्ल पक्षबाट अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपीठ तथा मन्दिरमा जात्रा सुरु हुने भएकाले जात्राको रौनक छाएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा पुजारी डिल्लीराज जोशीले जानकारी दिनुभयो । कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपीठमा जात्रा लाग्ने गर्दछ । गएको दुई वर्षदेखि कोरोना त्रासका कारण जात्रा हुन सकेका थिएनन् । अहिले सङ्क्रमण कमी भएका कारण जात्रा सुरु हुन थालेको शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो ।
जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै दर्शनका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम सुरु भइसकेको छ । यहाँका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्न अहिले तराईका जिल्लाबाट पहाड आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख महासिंह साउदले जानकारी दिनुभयो । डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूलाकेदार, मसानी, शैलेश्वरी, दिपायल जात, मष्टो, ब्वाराकी जातलगायत मन्दिरमा जात्राको तयारी भइरहेको छ ।
त्यस्तै जिल्लाको जोरायल–५ गड्सेरास्थित मसानी जात, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतका अन्य मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका छन् । उक्त मेला यही मङ्सिर १ गते सम्पन्न भइसकेको छ ।
राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको बताइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा थुपै्र धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुईपटक मेला तथा जात्रा लाग्ने गर्दछ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हँुदै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।
प्रतिक्रिया