शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ । गत भदौ २० गते पोखरास्थित ‘मेडिप्लस हस्पिटल’मा सो शल्यक्रिया गरिएको बताइएको छ । दृष्टि गुमेपछि अहिले छोरा बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको बालकका आमा सानीले जानकारी दिनुभयो । ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएको सो परिवारमा आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेपछि घरमा राख्दै आएका थिए ।
मकवानपुरको भीमफेदी घर भई हाल तनहुँको दुलेगौँडामा तामाङ परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।सो परिवारको समस्याका बारेमा स्थानीय युवा समाजसेवी शङ्कर पन्तले थाहा पाएपछि उहाँकै नेतृत्वमा युवा समूहले रु ५५ हजार सङ्कलन गरी बिहीबार तामाङ परिवारलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा बालकको शारीरिक अवस्था र रोग पहिचान गर्न उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
रोग पहिचान भई उपचार सम्भव हुने अवस्थामा युवा समूहले अभियान चलाएरै रकम सङ्कलन गरी बालकको उपचारमा सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । छोराको उपचार गराउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण अस्पतालमा लैजान नसकेर घरमै राख्नुपरेको आमा सानीले गुनासो गर्नुभयो ।
सो समूहले आर्थिक सहयोग गरेपछि छोराको उपचार हुनेमा थप आशा पलाएको उहाँले बताउनुभयो । अनिपका उपचारका लागि मित्रलाल÷पदमकुमारी श्रेष्ठले रु १० हजार, बबुराम कार्कीले रु १० हजार, दिवस उप्रेतीले रु १० हजार, देवेन्द्र ढुङ्गानाले रु पाँच हजार, युवराज भट्टराईले रु पाँच हजार एक सय, शिव गर्तौलाले दुई हजार, सुरेन्द्र पौडेलले रु दुई हजार र सुमन सापकोटाले रु दुई हजार सहयोग गरेका छन् ।
यो पनि – बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते
शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।
घाइते हुनेमा वडा नं ४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना र २३ वर्षीय रविशना राना छन् ।यसैगरी, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय वीरेन्द्ररी राना, ९ वर्षीया लक्ष्मी राना र ६ वर्षीय जेनिस राना छन् । घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पु¥याएको पीपलाडी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गौरे लुहारले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाले चार कुकुरलाई मारेका छन् ।
वडाध्यक्ष ज्ञानबहादुर बिष्टले कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि पहल गर्न जानकारी गराइएको बताउनुभयो । “पशु शाखालाई जानकारी गराइसकेका छौँ,” उहाँले भन्नुभयो, “वडा क्षेत्रमा छाडा कुकुर धेरै छन् । सबैलाई रेबिजविरुद्धको सुई लगाउनका लागि कार्य अगाडि बढाउन भनेको छु ।”
वडा नं ११ कलुवापुरका ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मन्जरी साउँद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र ५५ वर्षीय रामबहादुर ऐरलाई कुकुरले घाइते बनाएको छ । घाइते सबै जनाको सो अस्पतालमा उपचार भइरहेको छ ।
कुकुरले बाटोमा हिँड्नेहरुलाई र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत डराएर हिँड्नुपर्ने अवस्था सृजना भएको छ । विशेषगरी विद्यालय जाने बालबालिलाई विद्यालय पठाउनसमेत अभिभावक डराउन थालेका छन् । बहुलाहा कुकुर नियन्त्रण गर्नका लागि पशु शाखाबाट टोली परिचालन गरिने नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।
प्रतिक्रिया