सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छः मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छः मन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)को ३० औँ साधारणसभाको आज काठमाडौँमा उद्घाटन गर्नुहँुदै उहाँले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले ‘भिजन पेपर’ को तयारी अघि बढाएको जानकारी दिदैं अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र महत्वपूर्ण एवम् संवेदनशील क्षेत्र भएको उललेख गर्नुभयो ।सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्न र बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहकारी संस्थाको महत्वपूर्ण भूमिका छ ।” मन्त्री श्रेष्ठले सहकारी र बैंकबीच कानूनी, प्रशासनिक तथा सैद्धान्तिकरुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी र बहुउद्देश्य सहकारी सामूहिक सहकार्य र प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

आधारभूत मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण सहकारी क्षेत्रमाथि नागरिकको विश्वास र भरोसा घटिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले पनि संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने अवस्था आउनसक्छ ।” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष केबी उप्रेतीले आर्थिक समृद्धिमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

यो पनि – एमाले महाधिवेशन : मतदानकै दिन मतपरिणाम

काठमाडौँ, ३ मङ्सिर (रासस) ः नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छाँै, उहाँले भन्नुभयो, “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।”

आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताउनुभयो । उहाँका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उहाँले बताउनुभयो ।

‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । “मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छाँै”, उहाँले भन्नुभयो, “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।” निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ । महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।

आयोगका अध्यक्ष डा सुब्बाले महाधिवेशनस्थलमा तीन उपकरणबाट नमूना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिणाम घोषणा गर्ने जानकारीदिनुभयो । “हामीले चितवनमा मतदानस्थल पनि हेरेर आइसकेका छौँ”, उहाँले भन्नुभयो, “ १२ गते बिहान ८ बजेदेखि मतदान सुरु भएर साँझ ६ बजेसम्म सक्ने हाम्रो तयारी रहेको छ । अनि मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्दछौँ ।”

उहाँले महाधिवेनमा सहभागी हुने सबै प्रतिनिधिलाई एक पटक विद्युतीय उपकरणमा नमूना मतदान गराइने बताउनुभयो । “महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौँ”, उहाँले भन्नुभयो, “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछाँै ।”

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती उपकरणमा रहने छन् । “जम्मा ४८ पदका लागि करिब ५०० उम्मेदवार हुने हाम्रो अनुमान रहेको छ”, निर्देशक रिमालले भन्नुभयो, “सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जना प्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।”

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको जानकारीदिनुभयो । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् ।