नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो ।समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।
एक फरक प्रसङ्गमा उहाँले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छाँै ।”
नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उहाँले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताउनुभयो ।
यो पनि –
हाम्रो ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्छ : डा महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आज काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सहमहामन्त्री डा महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा अन्य राजनीतिक दलसँग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरुलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्छ ।”
सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ ।”
नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनका क्रममा मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुँदैछ । केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रतिक्रिया