सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४१ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।आरडिटी पिसीआरमा सात र एन्टिजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई र कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए ।
यो पनि – पछिल्लो २४ घण्टामा थपिए २९६ जना सङ्क्रमित
पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।
पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।
सङ्क्रमित शून्य जिल्ला पाँच
आज सङ्क्रमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् । पछिल्लो २४ घन्टामा ३६९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट आज पाँच जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।
होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसियु)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।



प्रतिक्रिया