नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताउनुभयो । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ’, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित हुन लागेको महाधिवेशनले एमालेलाई अझै बलियो बनाउने बताउनुभयो ।
एमाले प्रचारप्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिने गरी बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माणको तयारी गरिएको जानकारी गराउनुभयो । प्रचारप्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचारप्रसार रुपन्देहीका प्रमुख मोहन चापागाईंले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने गरी तयारी भइरहेको बताउँदै इ भोटिङ प्रणालीसँगै प्रचारका शैलीमा पनि परिवर्तन गरिएको बताउनुभयो ।
यो पनि – काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा ख्यामराज
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशअन्तर्गत आज सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो । नवनिर्वाचित सभापति तिवारी काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष समेत हुनुहुन्छ ।यस्तै, उपसभापतिमा सुमित्रा अणु जोशी, खेमकुमारी खड्का, सचिवमा लीला कार्की र प्रज्वला श्रेष्ठ तथा सहसचिवमा राजुमान डङ्गोल र गोविन्द पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सन्तोष पण्डितले राससलाई जानकारी दिनुभयो । प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल बैद्य, प्रकाश श्रेष्ठ, मोतीबहादुर थापा, रम्बा रजक, महेश कुँवर, पशुपति गुरुङ, माधवराज नेपाल, अन्जना रावल, गीता सिवाकोटी र ललिता कार्की हुनुभएको छ ।
यस्तै, प्रदेश प्रतिनिधिमै कृष्णबहादुर तामाङ, सुरेन्द्र डङ्गोल, इशा श्रेष्ठ, सुयस पौडेल, दिनेकुमार पाठक, प्रतिभा घिमिरे खरेल, जफर हुनेन र रुपा नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले बताउनुभयो । काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ अन्तर्गत बागबजार, ठमेल, लैनचौर, सामाखुशी, नयाँ बसपार्क, गोङ्गबुलगायतका क्षेत्र पर्दछन् । उक्त प्रदेशसभामा कांग्रेसका १२३ क्षेत्रीय प्रतिनिधि रहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएको छ ।
प्रतिक्रिया