ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन । क्षतिको विवरण आउन बाँकी रहेको उपरीक्षक बस्नेतको भनाइ छ ।
यो पनि – कोभिडका कारण अभिभावक गुमाएका १६९ बालबालिकाको व्यवस्थापन गरिने
राष्ट्रिय बालअधिकार परिषद्ले कोभिडका कारण अभिभावक बिहिन भएका १६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा आज आयोजित नेपालमा बाल अधिकार स्थिति प्रतिबेदन सार्वजनिकरण कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्लन गरिएको बताउनुभयो ।
यी बालबालिकाको राज्यले अभिभाकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरिएको उहाँले बताउनुभयो । वर्षौँ पहिले हराएका कतिपय बालबाबालिका विदेशसमेतमा भेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार तथा सुदृढीकरण गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी छ ।”
एकात्मक राज्य व्यवस्था हुँदा जिल्ला विकास समिति र गाउँ विकास समितिले वार्षिक बजेटको १० प्रतिशत छुट्टाउनुपर्ने व्यवस्था गरिएको भए पनि अहिले तीन तहको सरकार हुँदा त्यो हटेको कार्यकारी अधिकृत धरेलले बताउनुभयो । कतिपय पालिकाले बालबालिकाको क्षेत्रमा उचित बजेट व्यवस्थापन गरे पनि कतिपयले नगरेको उहाँले बताउनुभयो । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा बाल कल्याण अधिकारीको नियुक्ति गरेर बालकोषको स्थापना गर्नुपर्छ ।”
मन्त्रालयका उपसचिव शान्तिराज प्रसाइँले स्थानीय तहमा बाल मनोबिज्ञ राख्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । अहिले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न समस्या रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाल मनोविज्ञ राख्न पनि सङ्घले नै स्वीकृति दिनुपर्छ ।”



प्रतिक्रिया