नेपाली कांग्रेस काठमाडौँको २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज भएको अधिवेशनमा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो । कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिनुभयो ।
निर्विरोध भएसँगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बन्नुभएको छ ।
बीस वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन प्रक्रिया अगाडि बढेपनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’मा भने भोलिमात्र निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै, काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
यो पनि –
प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो
नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उहाँका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ ।आजै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया