नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ बोल्दै उहाँले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उहाँले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोल्नुभएको थियो ।
यो पनि – महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ–सचिव गुरुङ
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले पार्टीको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल कास्कीको आठौऔँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टी सङ्गठनलाई थप सङ्गठित एवम् सशक्त बनाउन आशन्न महाधिवेशन सफल बन्ने बताउनुभयो ।
पेशागत मर्यादालाई प्रत्येक सञ्चारकर्मीले आत्मसात गर्दै मिसन पत्रकारितालाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । मुलुकमा राजनैतिक अपराधिकरण वढिरहेको बताउँदै सचिव गुरुङले त्यसको सञ्चारकर्र्मीले भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेको राजनीतिमा गण्डकी प्रदेशको अहम भूमिका रहेको चर्चा गर्दै उहाँले यस अधिवेशनमा प्रदेशबाट न्यूनतम दुई जना केन्द्रीय पदाधिकारी पाउने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको गण्डकी प्रदेश संयोजक एवम् निवर्तमान अर्थ मन्त्री किरण गुरुङले पार्टीको दशौँ महाधिवेशन राजनैतिक प्रतिस्पर्धा र मुलुकको समृद्धिका लागि कोशे ढुङ्गा सावित हुने बताउँदै त्यसका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश सचिव एवम् पूर्वमन्त्री जगत विश्वकर्माचाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् संस्थागत विकासमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेसचौतारी अनुहार हेरेर नभई नीति, विचारका आधारमा श्रमजीवी पत्रकारको हक हित र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, संस्थाका सचिव मोतिसागर अधिकारी, राजाराम पौडेललगायतले पत्रकारिता क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया