कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।
बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गाउँपालिकाले कोषमा बजेट विनियोजन गरेको थियो । कार्यपालिकाको निर्णयले सो कोषबाट रु दुई करोड झिकेर किसानको लागि गहुँको बीउ खरिद गेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख दीपक खड्काले बताउनुभयो ।
गाउँपालिकाको कृषि शाखाका अनुसार बाढीले गरेको क्षतिअनुसार वडा÷वडामा गहुँको बीउ वितरण गरिएको छ । कैलारी गाउँपालिकामा नौ हजार ४१८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो । गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ । गाउँपालिकामा सात हजार १२६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ । सो गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो ।
एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो । रकम अभावका कारण निर्णय गरेअनुसार गहुँको बीउ वितरण गर्न नसकेको कैलारी–३ का वडाअध्यक्ष कैलाश चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको जनाएको छ ।
यो पनि – जडीबुटीका बिरुवा निःशुल्क वितरण
औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जाेका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ ।पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा शुक्रबार निःशुल्करुपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लाग्नुभएका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले जडीबुटीका बिरुवा वितरण गर्नुभएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लगायतलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।
अभियानकर्मी राजलवटले नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि गुर्जोलगायत जडीबुटीका बिरुवा र गुर्जोलगायत जडीबुटीबाट बनेको चियाका पोका वितरण गर्दै आउनुभएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न गुर्जोसहित जडीबुटीले सहयोग गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । हालसम्म उहाँले प्रायः सबैजसो जिल्लामा निःशुल्क बिरुवा र गुर्जोसहित जडीबुटीबाट बनेको चिया एवं धुलो वितरण गर्नुभएको छ । यसबीचमा करिब तीन लाख बिरुवा वितरण गरिएको जनाइएको छ । सेवनकर्ताबाट फाइदा भएको प्रतिक्रिया पाएपछि यो अभियानलाई निरन्तरता दिइएको अभियानकर्मी राजलवटले बताउनुभयो ।



प्रतिक्रिया