नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ ।राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभएको हो ।
उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लागेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्र भएका गलत कामकारवाहीलाई अब रोकिन्छ ।”
अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”
अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गर्नुभयो । अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताउनुभयो । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।–––
यो पनि –
कांग्रेस महाधिवेशनः चुनावी दौडमा अधिकांश युवा
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ । बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएकाले मतदानबाट नै नेतृत्व टुङ्गो लाग्ने निर्वाचन समितिले जनाएको छ ।
यही मङ्सिर ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १० गतेका लागि तोकिएको जिल्ला अधिवेशनको तयारी पनि तीव्र रुपमा भइरहेको छ । जिल्ला सभापतिमा महाधिवेशन प्रतिनिधि जित्नुपर्ने बाध्यात्मक वैधानिक व्यवस्था भएकाले उम्मेदवारको टुङ्गो हालसम्म लाग्न सकेको छैन ।
बागलुङका क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यमा युवाको वर्चश्व कायम हुने पक्कापक्की छ । दुई प्यानलमा विभाजन भएका कार्यकतामध्ये उम्मेदवारी दिने अधिकांश युवा छन् । पाको पुस्ताका केही नेता मात्रै महाधिवेशन दौडमा छन् । “हामी युवा अब राजनीतिका लागि योग्य भयौँ र त उम्मेदवारी दिएका छौँ”, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएका दिनेश सापकोटाले भन्नुभयो, “पार्टी पुनःनिर्माण आवश्यक छ, जसका लागि युवा नेतृत्व अपरिहार्य छ ।” उहाँले पार्टी पुनःनिर्माण प्रस्ताव तथा प्रबुद्ध समाजवादको घोषणापत्र नै तयार गरेर पार्टीको महाधिवेशनमा लाग्नुभएको छ ।
नेपाल विद्यार्थी सङ्घका नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी अहिले पनि महाधिवेशन प्रतिनिधिको दौडमा हुनुहुन्छ । युवाको नेतृत्व स्थापित गराउन लागि पर्नुभएका सुवेदीले बागलुङका सबै वडामा युवालाई नेतृत्व पङ्क्तिमा ल्याउन सफल भएको दाबी गर्नुभयो । “जिल्ला, प्रदेश र केन्द्रसम्म नै युवाको हातमा नेतृत्व ल्याउनका लागि अहिले प्रतिनिधि छनोटमा ध्यान पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “हामीले प्यानलकै कुरा गर्दा पनि युवाको सहभागिता उत्साहजनक छ ।”
प्रदेश क्षेत्रीय सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको सदस्यका लागि धेरै युवाले आकाङ्क्षा देखाएका छन् । “५० प्रतिशतभन्दा धेरै युवा उम्मेदवार छन्, त्यो पनि ४० वर्ष नकटेका छन्”, नेविसङ्घका नेता तथा महाधिवेशन प्रतिनिधिका प्रत्यासी विष्णुप्रसाद शर्मा ‘दारी’ले भन्नुभयो, “समावेशीमा पनि युवा नै धेरै छन् ।” महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षा राखेकामध्ये अधिकांश युवाले चुनाव जित्ने उहाँले दाबी गर्नुभयो ।
बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रमा युवा उम्मेदवार रहेको उहाँले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुने युवाको सङ्ख्या उल्लेख्य छ ।
प्रतिक्रिया