मौलिक परराष्ट्रनीति बनाउनुपर्नेमा जोड

मौलिक परराष्ट्रनीति बनाउनुपर्नेमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परराष्ट्रमन्त्री डा नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र(सिनास)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अबलम्बन गरेका नीतिहरुका आधारका साथै विश्व परिवेशमा आएको फेरबदल तथा भूराजनीतिक अवस्थाअनुसार राष्ट्रिय हीतलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का, पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्वमन्त्री राम कार्की लगायतले रणनीतिक अध्ययन श्रृङ्खला (स्ट्राटेजिक स्टडिज सिरिज)११ औँ प्रकाशन श्रृङ्खला विमोचन गर्नुहुँदै । तस्बिर ः कृष्ण अधिकारी, रासस

विश्वका शक्ति राष्ट्रहरुबीचको होडबाजीका कारण परराष्ट्र नीतिलाई रणनीतिक र सन्तुलित ढङ्गबाट अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी तेस्रो मुलुक तथा छिमेकी मुलुक भारत र चीनको समृद्धिबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहँँले भन्नुभयो, ‘‘सबैलाई समान दृष्टिबाट हेर्न र व्यवहार गर्न सक्नुपर्छ, राष्ट्रिय हीत यसैमा हुन्छ र हाम्रो उद्देश्य पनि पूरा हुन्छ ।’’ छिमेकी मुलुकसँग कुनै समस्या भए द्वन्द्वको रुपमा नभई कुटनीतिकरुपमा समाधान खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विगतमा विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताका मूलप्रति सङ्ग्रहित हुन नसक्दा हाम्रा महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरु संरक्षण हुन नसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा खड्काले विभिन्न पुस्तकालयहरुबाट बेचिएका, चोरिएका वा हराएका बहुमूल्य ग्रन्थहरु खोजी भइरहेको बताउनुभयो । नेपालको बारेमा स्वदेशी लेखकहरुले लेखेका कृतिका बारेमा भन्दा विदेशीले लेखेका कृतिलाई महत्व दिने र आधिकारिक मान्ने परिपाटी अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । विश्वविद्यालयमा रहेका सिनासजस्ता प्राज्ञिक संस्थालाई साधन र स्रोतसम्पन्न गरी अनुसन्धानका कार्यहरु सोही संस्थामार्फत गराउन सरकार प्रतिवद्ध रहेको मन्त्री खडकाले बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री तथा नेकपा(एमाले)का नेता प्रदीप ज्ञवालीले बदलिंदो विश्व परिवेशमा नेपालले राष्ट्रिय हीत, असंलग्नता, विवादको शान्तिपूर्ण समाधान र मित्रराष्ट्रहरु नेपालबाट के चाहन्छन् भन्ने कुरा बुझेर अगाडि बढ्न सक्न पर्नेमा जोड दिनुभयो । शीतयुद्धमा अमेरिका र तत्कालीन सोभियत रुससँग समान रुपमा सम्बन्ध कायम गरी सहयोग लिन सकेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा पनि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनसँग पनि समान सम्बन्ध स्थापित गरी बढीभन्दा बढी लाभ लिनसक्नु पर्दछ भन्नुभयो । सन् १९६१ मै टुङ्गिएको चीनसँगको सीमा विवादलाई अहिले पुनः खोतल्न खोज्दा त्यसले अनेक आशङ्का उब्जाउने हुँदा कुटनीतिक रुपमा समाधान खोजिनु पर्ने नेता ज्ञवालीको भनाइ थियो ।

पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता राम कार्कीले मुलुकको एकीकृत परराष्ट्र रणनीति नहुँदा एमसिसी, बिआरआईजस्ता सहयोग सम्झौताहरु विवादमा आएको उल्लेख गर्दै राजनीतिक दलहरुबीच विकासको स्पष्ट नीति बन्न नसकेसम्म आगामी दिनमा पनि यस्ता विवादहरु सिर्जना हुने र त्यसले आपसी सम्बन्धमा पनि असर पुग्ने बताउनुभयो । उहाँले समाजवादी र वैज्ञानिक शिक्षा प्रणाली नहुँदा युवा जनशक्ति पलायन हुनाका साथै यसले मुलुकलाई कहिल्यै समृद्धितर्फ लैजान सक्दैन भन्नुभयो । नेता कार्कीले चीन र भारत शक्ति राष्ट्रिको रुपमा उदय भएसँगै पूँजीवादतर्फ उन्मुख हुँदै गएका बेलामा नेपालले कसरी आफ्नो अस्तित्व कायम राख्ने भन्ने विषयमा बुद्धिजिवीहरुले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत तथा वरिष्ठ कुटनीतज्ञ प्रा श्रीधर खत्रीले अहिले विश्वको स्वरुप बदलिएको अवस्थामा नेपालले आफ्नो पहिचानलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँँले छिमेकी मुलुकहरु शक्ति राष्ट्रको रुपमा अगाडि बढिरहेको अवस्थामा भूराजनीतिक स्थितिलाई ख्याल गरी सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सुझाव दिनुभयो ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले मुलुकको मौलिक विदेश नीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा, विदेश नीति र कुटनीति अत्यन्त गम्भीर विषय भएकाले यसमा केन्द्रले आन्तरिक स्रोतबाटै अनुसन्धानका कामहरु अगाडि बढाउने बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग अलगअलग सम्वाद गरी साझा अवधारणा तयार गर्न सिनासले पहल गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सिनासद्वारा प्रकाशित रणनीतिक अध्ययन श्रृङ्खला (स्टयाटेजिक स्टडिज सेरिज) को ११ औँ अङ्क विमोचन गरिएको थियो । विश्वमा शितयुद्धको प्रभाव रहेको अवस्थामा सन् १९८४ मा स्थापना भएको सिनासले केही वर्षसम्म प्रकाशन गर्दै आएको उक्त श्रृङ्खला १० अङ्कसम्म प्रकाशन भएर ३५ वर्षदेखि स्थगित भएकामा यसै वर्ष ११ औँ श्रृङ्खला प्रकाशन भएको छ । यस जर्नलमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता, परराष्ट्रविद् आनन्द आदित्य, गौरवशंसेर थापा, श्वेता कार्की, लालबाबु यादव, चन्द्रदेव भटृ तथा चिनीयाँ प्राध्यापकहरुको अनुसन्धानमूलक लेखहरु समावेश हुनाका साथै चिनीया राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा व्यक्त मन्तव्य र राष्ट्रपति भण्डारीको चीन भ्रमणको अवसरमा खीचिएका तस्बिर पनि समावेश गरिएको छ ।