अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्नुहुँदै उहाँले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गर्नुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उहाँले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उहाँले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पार्नुभयो ।
समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेश गर्दै उहाँले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गर्नुभयो । नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।
यो पनि – युवा नेताको आग्रह ः सहमतिका आधारमा नेतृत्व चयन
काठमाडौँ, ४ मङ्सिर (रासस) ः नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् ।
तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) अलग पार्टी गठन गरिसक्नुभएको अवस्थामा पार्टीलाई एकै ढिक्का बनाउन पहल गरेका हुन् । प्रचार विभाग उपप्रमुख सूर्य थापा पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिने बताउनुभयो । “अहिलेसम्मको विकसित परिस्थितिलाई हेर्दा सहमतिका आधारमा नै नेतृत्व चयन गर्ने प्रयास हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कोको उठ्ने निश्चित भइकेको छैन । तैपनि पार्टीलाई थप एकताबद्ध बनाउन सहमतिमा नै नेतृत्व चयन हुन्छ ।”
अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल उपाध्यक्षमा भीम रावल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुभास नेम्बाङ र धनश्याम भुसाल, महासचिवमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङ आकाङ्क्षी हुनुहुन्छ ।विद्युतीय उपकरणबाट गरिने मतदानमा १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा आयोग र अनुशासन आयोगमा १५÷१५ जनासमेत निर्वाचित हुनेछन् । पदाधिकारीमा पुरानै अनुहार दोहोरिए पनि २१० केन्द्रीय सदस्यमा भने युवा नेतृत्व आउने भएका छन् ।
यसअघि आठौँ र नवाँै राष्ट्रिय महाधिवेशनको नेतृत्व निर्वाचनको माध्यमबाट भएको थियो । आठौँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालबीच प्रतिस्पर्धामा खनाल निर्वाचित हुनुभएको थियो भने नवौँ महाधिवेशनमा पार्टीका नेता नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टीलाई आम कार्यकर्ताको माझमा एक ढिक्काको सन्देश दिनका लागि सहमतिका आधारमा पदाधिकारी चयन गर्नुपर्ने माग गर्नुभयो । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरिएको छ । नेता भट्टराईले शीर्ष नेतृत्वले पदाधिकारीमा सहमति जुटाउन नसके आफूले पनि उम्मेदवारी दिने बताउनुभयो । “आम कार्यकर्तामा सकारात्मक सन्देश दिनका लागि पदाधिकारी सर्वसम्मत चयन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “यही सहमतिका आधारमा पदाधिकारी चयन गर्न सकिदैन भने मेरो पनि पदाधिकारीमा उम्मेदवारी रहन्छ ।”
केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले पनि पदाधिकारी सहमतिका आधारमा निर्वाचित गर्न सके पार्टीभित्र गुटबन्दी अन्त्य हुने बताउनुभयो। उहाँले पदाधिकारीभित्र उच्च समझदारी कायम गरेर अगाडि बढेमा आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउनसक्ने जिकिर गर्नुभयो । “पार्टीलाई एकताबद्ध बनाउन पदाधिकारीमा सर्वसम्मत गर्नसके र केन्द्रीय सदस्यका लागि निर्वाचन भए पनि पार्टीभित्र गुटबन्दी हँुदैन”, उहाँले भन्नुभयो, “यसले पार्टीलाई थप मजबुत बनाउँछ ।”
एमाले नेत्री विद्या भट्टराईले वडादेखि नै सहमतिका आधारमा नेतृत्व चयन भइरहेको अवस्थामा केन्द्रमा पनि सर्वसम्मतका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “पार्टीबाट केही समूह अलग भएर समस्या आयो । त्यो समस्यालाई समाधान गर्न पनि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी एकता भएको सन्देश दिन सकिन्छ ।”
उहाँले सहमतिका आधारमा पनि नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अवलम्बन हुने बताउनुभयो । महाधिवेशनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गर्नुभएको रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत नेता हुनुहुन्छ ।महाधिवेशनमा देशैभरबाट एक हजार १९९ प्रतिनिधि चयन भइसकेका छन् । यस्तै कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।



प्रतिक्रिया