निर्दोष कैदीको कथामा आधारित उपन्यास ‘चक्रधुम’ विमोचन

निर्दोष कैदीको कथामा आधारित उपन्यास ‘चक्रधुम’ विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ४ मङ्सिर (रासस) : लेखक रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधुम’ आज पोखरामा विमोचन गरियो । उपन्यास नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले आज एक समारोहबीच विमोचन गर्नुभएको हो । परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक उपन्यास ‘चक्रधुम’ मा विशेष गरी असुरक्षित नारीहरूका समस्यालाई उजागर गर्नाका साथै बच्चादेखि वृद्धासम्मले भोग्नु परेको त्रासदीपूर्ण अवस्थाको चित्रण गरिएको छ ।

समाजमा अन्याय सहेर बस्न विवश नारीहरूका पीडा र अपराधीका चलाखीपूर्ण व्यवहारले आहत मनमा परेको गहिरो घाउको मार्मिक वर्णन उपन्यासमा पाइन्छ । अपराधीहरूको चलखेल, कानुनका छिद्रको प्रयोगद्वारा पाइने सफाइ र पीडितहरू पीडकबाट झनै असुरक्षित रहनुपर्ने सामाजिक बाध्यतालाई कौतुहलपूर्ण तरिकाले उपन्यासमा पस्कन खोजिएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कृति लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले अदालतभित्रका विषयवस्तुमा कमै मात्र पुस्तक प्रकाशन हुने गरेको भन्दै उपन्यासभित्र पाठकले नयाँ स्वाद भेट्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टा परिचय डोलराज अर्यालले गराउनुभयो । उहाँले स्रष्टा गिरीको बहुआयमिक प्रतिभा तथा उपन्यास चक्रधुमलाई आकर्षक बनाउन गरेको प्रयासबारे बेलिविस्तार लगाउनुभयो । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले लेखक गिरी कास्कीकोटको अमूल्य सम्पत्ति भएको बताउँदै गिरीको सक्रियता र मिहिनेत सबैका लागि अनुकरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।

लेखक गिरीले आफ्नो लेखनकलाको माध्यमबाट साहित्य क्षेत्र तथा शिक्षण क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएको छ । ‘संविधान’ मुक्तक सङ्ग्रह उहाँको पहिलो प्रकाशित सहित्यिक कृति थियो भने अनिवार्य नेपाली अभ्यास पुस्तक कक्षा १०, नेपाली व्याकरण बोध अभिव्यक्ति र प्रयोगात्मक अभ्यास कक्षा ८, शिक्षक सेवा आयोग परीक्षा सफलता मञ्च सामाजिक अध्ययन माध्यमिक तह र निम्नमाध्यमकि तह, मेरो एसइई सामाजिक अध्ययन र अभ्यास, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, मेरो सजिलो सामाजिक अध्ययन र अभ्यास कक्षा ८ र कक्षा ९ शिक्षासँग सम्बन्धित उहाँका प्रकाशित पुस्तकहरू हुन् ।

कास्की जिल्लाको रमणीय गाउँ कास्कीकोटमा जन्मनुभएका गिरी हाल न्याय सेवामा कार्यरत हुनुहुन्छ । शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील उहाँसँग राजधानी राष्ट्रिय दैनिक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको क्षेत्रीय प्रमुख, कालिका उच्च मावि कास्कीकोटको सहायक प्राचार्य, शैक्षिक जनशक्ति विकास केन्द्र पोखराको सामाजिक अध्ययन विषयको रोष्टर प्रशिक्षक, कास्कीकोट दिग्दर्शनको सम्पादकको समेत अनुभव सँगाल्नु भएको छ ।

उपन्यासको प्रकाशन बिएन पुस्तक संसार काठमाडाँैले गरेको हो । बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसी उपन्यासले पाठकको मन जित्नेमा विश्वस्त देखिनुहुन्छ । अदालतले दोषी करार गरेका तर निर्दोष कैदीहरूले फजुलमा खेपेको अत्यासलाग्दो सास्तीको कथा उपन्यासमा आकर्षक तरिकाले प्रस्तुत गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टा परिचय डोलराज अर्यालले गराउनुभयो । उहाँले स्रष्टा गिरीको बहुआयामिक प्रतिभा तथा उपन्यास चक्रधुमलाई आकर्षक बनाउन गरेको प्रयासबारे बेलिविस्तार लगाउनुभयो । उपन्यासबारे आफ्नो आत्मानुभूतिसहितको चर्चा गर्दै केही रमाइला प्रसङ्ग सुनाउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेल, उपकुलपति गोरे गुरुङ, प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले डा भूमिराज बस्ताकोटीलगायतले साहित्यिक क्षेत्रको विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्नेमा उहाँहरूको सामूहिक धारणा रहेको थियो ।