जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताउनुभयो ।
घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यो पनि – जीप दुर्घटना अपटेड : एकको मृत्यु
जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अपस्तालले जनाएको छ । बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।
यसैगरी दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भीर घाइते एक महिला र पुरुषको ठेगानासमेत खुल्न सकेको छैन । पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको घटनास्थलबाट फर्किएका सशस्त्र प्रहरी ३३ नं गणका एसपी गगन श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंसमेत पुगेर फर्किनुभएको छ ।
प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी–३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी–३ महरी गाउँका ४९ वर्षीय गोर्ख बुढा, पातारासी–३ माथी लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी–६ जम्नका छ वर्षीय पुस्कर विष्ट र पातारासी–७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उपकुलपति रावलसहितको चिकित्सकीय टोली खटिएको छ ।



प्रतिक्रिया