वर्तमान सरकार जनताप्रति उत्तरदायी छ : अध्यक्ष नेपाल

वर्तमान सरकार जनताप्रति उत्तरदायी छ : अध्यक्ष नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित भेलामा उहाँले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताउनुभयो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताउनुभयो । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्नुभएको थियो ।

यो पनि- वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र)ले आज देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र भोलिसम्म त्यसको विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो ।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र भोलिसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उहाँले बताउनुभयो । माओवादीले आजका लागि देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । आज भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो । सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उहाँले बताउनुभयो । ललितपुरमा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा रहेका छन् । यस्तै, वाग्मती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ६ वटा वडा छन् ।
–––