सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
यो पनि – दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते
दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यो पनि – सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो
सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ । सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताउनुभयो । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा रु १०० बढाइएको उहाँको भनाइ छ ।
“किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ”, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भन्नुभयो, “खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।” जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको सङ्घले जनाएको छ ।



प्रतिक्रिया