‘बालबालिकाका लागि परिवार’ पुस्तक सार्वजनिक

‘बालबालिकाका लागि परिवार’ पुस्तक सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नवीन समाजले ‘बालबालिकाका लागि परिवार’ नामक पुस्तक विमोचन गरेको छ । विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर काठमाडौँका विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याएपश्चात उनीहरूको अनुभवलाई समावेश गरी नवीन समाजले पुस्तक सार्वजनिक गरेको हो ।

शनिबार एक कार्यक्रम आयोजना गरी जनप्रतिनिधि र सरोकारवाला पक्षको सहभागितामा संयुक्तरूपमा पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बालबालिकालाई जिल्ला बाहिर लैजाने कार्यलाई रोक्न पुस्तकले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । अध्यक्ष लामाले भन्नुभयो, “हुम्लाबाट अविभावकलाई फकाएर रकमसमेत असुल गर्दै लिइएका बालबालिकाको बिलौना पुस्तकमा समेटिएको बताउँदै पुस्तक जिल्लावासीले अध्ययन गर्न पाए आफ्ना बालबालिका जिल्ला बाहिर पठाउने कार्य रोक्न पुस्तकले सहयोग गर्ने विश्वास छ ।”

त्यसैगरी पुस्तक विमोचनमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यो पुस्तक हुम्लाका सबै अविभावका लागि उपयोगी हुने बताउनुभयो । आफूले अब यसरी अवैधरूपमा बालबालिका जिल्ला बाहिर लैजानविरुद्ध कडारूपमा निगरानी बढाउने प्रतिबद्धता जनाउनुका साथै हुम्लाका सबै अविभावकले एकपटक उक्त पुस्तक अध्ययन गर्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले भन्नुभयो, “सबैतिर आफ्ना छोराछोरीलाई थोरै सयम यताउता जाँदा खोजीकार्य भइरहेका बेला हुम्लामा भने त्यसको ठिक उल्टो आफ्ना नानीबाबुलाई संस्थामा अध्ययन गराउने नाममा घर बाहिर पठाउन प्रोत्साहन गर्ने प्रवृत्ति गलत छ ।”

अवैधरूपमा जिल्ला बाहिर लगिएका बालबालिकाको उद्धारका लागि काम गर्दै आएको हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिका निकासीकार्य रोक्नकै लागि पुस्तक सङ्गालोका रूपमा तयारी पारिएको बताउनुभयो ।

यसमा परिवारसँग बिछोड भएका बालकालिकाले संस्थामा बस्दा भोगेका पीडा र समस्या पुस्तकमा समेटिएको निर्देशक लामाले बताउनुभयो । पुस्तकमा १३ बालबालिका संस्थामा बस्दाका कथाव्यथालाई कविता, कथा, अनुभव, भोगाइका रूपमा समेटिएको छ । पुस्तक गाउँगाउँमा समेत पु¥याइने भएको उहाँले बताउनुभयो । नेपाल सरकार तथा विभिन्न सरोकारवाला निकायको सहयोगमा विसं २०६५ पछि हुम्लाबाट अवैधरूपमा लगिएका दुई हजारभन्दा बढी बालबालिकालाई उद्धार गरेर परिवारसँग पुनःमिलन गरिएको उहाँले बताउनुभयो । कार्यक्रम हिमाली नवीन समाज, आधार विकास नेपाल, युनिसेफको आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको थियो ।