सबै प्रकारका व्यवसायीलाई करको दायरामा ल्याई राजस्व असुली सहज पार्ने उद्देश्यले स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुमार्फत रसुवाका गाउँहरूमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको हो । उक्त कार्यालयका प्रमुख गोपाल कोइरालाको नेतृत्वमा खटिएका कर अधिकृतहरूले करको महत्वबारे जागरण गराउँदै स्थायी लेखा लेखा नम्बर वितरण सुरु गरेका हुन् । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा राखिएको घुम्ती शिविरबाट १०० भन्दा बढी व्यवसायीलाई स्थायी लेखा नम्बर जारी गरिसकिएको र गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चे एवं आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतबाट समेत वितरण गर्न कर अधिकृत परिचालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा खटिएका टोलीद्वारा स्थायी लेखा नम्बर प्राप्त गरिसकेका करदातालाई आफूले गरेका कारोबारको विवरण खाता स्पष्टरूपले राख्न र निर्धारित समयमै कर तिर्नसमेत आग्रह गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा स्थानीयस्तरमा प्रत्येक वर्ष कर जागरण अभियान सञ्चालन एवं स्थानीयस्तरमै स्थायी लेखा नम्बर प्रदान गर्ने प्रावधानले साना व्यवसायीलाई ठूलो राहत मिलेको उद्योग वाणिज्य सङ्घ रसुवाले जनाएको छ ।
स्थायी लेखा नम्बर लिन अत्यन्तै कमी भएको रसुवामा कर जागरण अभियानले पछिल्लो समय करदाता उत्साहपूर्वक तवरले सहभागी हुल थालेका छन् । नेपाल–चीनबीचको कारोबार गर्ने रसुवागढीनाका, पवित्र धार्मिकस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङ्टाङ, विद्युत् उत्पादनका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको क्षेत्र भएका कारण बढ्दो क्रममा रहेको सबै व्यावसायिक क्षेत्रलाई करको दायरामा ल्याउन प्रयासरत रहेको बताइन्छ ।
यो पनि – ‘बालबालिकाका लागि परिवार’ पुस्तक सार्वजनिक
लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नवीन समाजले ‘बालबालिकाका लागि परिवार’ नामक पुस्तक विमोचन गरेको छ । विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर काठमाडौँका विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याएपश्चात उनीहरूको अनुभवलाई समावेश गरी नवीन समाजले पुस्तक सार्वजनिक गरेको हो ।
शनिबार एक कार्यक्रम आयोजना गरी जनप्रतिनिधि र सरोकारवाला पक्षको सहभागितामा संयुक्तरूपमा पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बालबालिकालाई जिल्ला बाहिर लैजाने कार्यलाई रोक्न पुस्तकले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।
अध्यक्ष लामाले भन्नुभयो, “हुम्लाबाट अविभावकलाई फकाएर रकमसमेत असुल गर्दै लिइएका बालबालिकाको बिलौना पुस्तकमा समेटिएको बताउँदै पुस्तक जिल्लावासीले अध्ययन गर्न पाए आफ्ना बालबालिका जिल्ला बाहिर पठाउने कार्य रोक्न पुस्तकले सहयोग गर्ने विश्वास छ ।”
त्यसैगरी पुस्तक विमोचनमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यो पुस्तक हुम्लाका सबै अविभावका लागि उपयोगी हुने बताउनुभयो । आफूले अब यसरी अवैधरूपमा बालबालिका जिल्ला बाहिर लैजानविरुद्ध कडारूपमा निगरानी बढाउने प्रतिबद्धता जनाउनुका साथै हुम्लाका सबै अविभावकले एकपटक उक्त पुस्तक अध्ययन गर्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले भन्नुभयो, “सबैतिर आफ्ना छोराछोरीलाई थोरै सयम यताउता जाँदा खोजीकार्य भइरहेका बेला हुम्लामा भने त्यसको ठिक उल्टो आफ्ना नानीबाबुलाई संस्थामा अध्ययन गराउने नाममा घर बाहिर पठाउन प्रोत्साहन गर्ने प्रवृत्ति गलत छ ।”
अवैधरूपमा जिल्ला बाहिर लगिएका बालबालिकाको उद्धारका लागि काम गर्दै आएको हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिका निकासीकार्य रोक्नकै लागि पुस्तक सङ्गालोका रूपमा तयारी पारिएको बताउनुभयो ।
यसमा परिवारसँग बिछोड भएका बालकालिकाले संस्थामा बस्दा भोगेका पीडा र समस्या पुस्तकमा समेटिएको निर्देशक लामाले बताउनुभयो । पुस्तकमा १३ बालबालिका संस्थामा बस्दाका कथाव्यथालाई कविता, कथा, अनुभव, भोगाइका रूपमा समेटिएको छ । पुस्तक गाउँगाउँमा समेत पु¥याइने भएको उहाँले बताउनुभयो । नेपाल सरकार तथा विभिन्न सरोकारवाला निकायको सहयोगमा विसं २०६५ पछि हुम्लाबाट अवैधरूपमा लगिएका दुई हजारभन्दा बढी बालबालिकालाई उद्धार गरेर परिवारसँग पुनःमिलन गरिएको उहाँले बताउनुभयो । कार्यक्रम हिमाली नवीन समाज, आधार विकास नेपाल, युनिसेफको आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको थियो ।



प्रतिक्रिया