दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन् ।
उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताउनुभयो । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो । उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।
यो पनि – पत्रकार ऐडीको निधन
हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो । दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उहाँका श्रीमती बविता बुढाले बताउनुभयो । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो । उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुनुहुन्छ ।



प्रतिक्रिया