मेरुदण्ड भाँचिएर थलिएकी सुनितालाई आर्थिक सहयोग

मेरुदण्ड भाँचिएर थलिएकी सुनितालाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सवारी दुर्घटनामा परी मेरुदण्ड भाँच्चिएर थला परेकी २६ वर्षीया सुनिता थारूको उपचारका लागि कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । करिब एक वर्षअघि दुर्घटनामा परी घाइते थारूको उपचारका लागि विभिन्न अस्पताल लगिए पनि अर्थाभावका कारण भाडाको घरमा बस्दै आउनुभएको थियो । लोकगायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा वैदेशिक रोजगारी कतारमा रहेका नेपालीलाई सहयोगका लागि आग्रह गरेपछि रु दुई लाख सहयोग प्राप्त भएको हो । अर्थाभावका कारण उपचार नपाएर छट्पटाइरहेकी ती महिलाका लागि रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीले अर्थ सङ्कलन गरेर पठाएपछि उपचार गर्न काठमाडौँ पठाइएको हो ।

सुनिताको उपचारका लागि हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको युवा समाजसेवी पन्तले जानकारी दिनुभयो । घाइते सुनिताका श्रीमान् भागिरामलाई उक्त रकम प्रदान गरी उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाएर उपचार भइरहेको उहाँले बताउनुभयो । कतारमा रहेर अर्थ सङ्कलन गरेका करिम बक्स मियाँले थारूको अवस्थापश्चात पठाइएको रु दुई लाखमध्ये उपचारमा खर्च भएर अब रु ७५ हजार खातामा रहेको उहाँले जानकारी दिनुभयो ।

विदेशबाट प्राप्त रकम चरणबद्धरूपमा उपचारका लागि उपलब्ध गराउँदै आएका छाँै । उहाँले भन्नुभयो, “आर्थिक सहयोग जुटाउनका लागि सर्वपक्षीय समिति निर्माण गर्ने योजनासमेत बनाएका छौँ ।” शुक्लागण्डकी नगरपालिकामा केही दिनभित्रै अगुवा युवाको सहभागिता रहने गरी थारूसहित आर्थिक विपन्नताका कारण उपचारमा समस्या परेकाको सहयोगार्थ अभियान चलाइने जनाइएको छ ।

बर्दियाको न्याउलापुर घर भई हाल मजदुरीको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायीरूपमा थारू परिवार बसोबास गर्दै आएका हुन् । श्रीमतीको उपचारका लागि सहयोग जुट्न थालेपछि भगवान् भेटिएको महसुस गरेको श्रीमान भागिराम बताउनुहुन्छ ।

घाइते थारूको साथमा रहेकी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्था मिलाइएको युवा समाजसेवी पन्तले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको हो । पञ्चमुनिदेव माविको विद्यार्थी मञ्चका अध्यक्ष एवं निवर्तमान विव्यास सदस्यसमेत रहनुभएका पन्तको सक्रियतामा विद्यालयले बालिकाको पढाइमा निःशुल्क गरेको हो । विसं २०५३ को एसएलसी ब्याजका विद्यार्थीले रु पाँच लाखको अक्षयकोष स्थापना गरेकाले अक्षयकोषबाट यस वर्ष गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ ।