प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी

प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ५ मङ्सिर (रासस) : प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन् । नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिकरुपमा कार्यभार सम्हालेका छन् ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुङ्गो नलाग्दा लम्बिएको थियो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीमा धनुषा निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित महतो संविधानसभाका बेला सङ्घीय सरकारमा स्थानीय विकास राज्यमन्त्रीसमेत हुनुभएको थियो । सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्य जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । प्रदेशसभामा नेकपा(एस)का १३ सदस्य छन् ।

केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एस)लाई सहभागी गराइएको हो । प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन् । नेकपा(एस)लाई पनि भागबन्डामै दुई मन्त्रालय दिइएको छ ।

यो पनि – पौँदीमा न्वागी पर्व सुरु

बागलुङ, ५ मङ्सिर (रासस) : बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आजदेखि न्वागी खाने पर्व सुरु भएको छ । वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतअनुसार बिहान ९ः४० बजे उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत भएको हो । शुभसाइत आज परे पनि दुई÷तीनसम्मै न्वागी खाने परम्परा रहेको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।

कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा÷रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”

स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ । पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् ।

न्वागी पर्वकै अवसर पारेर आजैदेखि बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा परम्परागत न्वागी मेला लाग्दैछ । बुधबारसम्म चल्ने मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष कोभिड–१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताउनुभयो । पहिले–पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन् ।

मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ । मेलामा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ ।