प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मङ्सिर रासस : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । महासभा यही मङ्सिर ७ देखि ९ गतेसम्म चल्ने छ ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि त्यसर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो । इन्टरपोल सदस्य रहेको १९४ राष्ट्रका नेशनल सेन्ट्रल ब्यूरो प्रमुख तथा प्रतिनिधि सहभागी हुने उक्त महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेशसँगै इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन र नयाँ सदस्यताका लागि आवेदनसमेत हुने छ ।

सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा महासभामा विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने जनाइएको छ । यसवर्ष महासभामा इन्टरपोल सदस्यताको लागि माइक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरीकार्य तथा प्रविधि, बजेट, सङ्गठित अपराध, साइबर क्राइम, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराध नियन्त्रणलगायतका विविध विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बङ्गलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक काम काजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

यो पनि – कांग्रेस महाअधिवेशन : प्रदेशसभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापतिमा निर्वाचित

भोजपुर, ५ मङ्सिर (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको प्रदेशसभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ । निर्वाचन अन्तर्गत प्रदेश ‘ख’का सभापति पदमा मदन खुलाल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन हुनुभएको छ । प्रदेशसभा ‘क’ मा भने निर्वाचनमामार्फत नेतृत्व चयन गरिएको हो । ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिमा भने तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । हालका सभापति नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले सो पदमा दाबेदारी प्रस्तुत गर्नुभएको छ ।