मकवानपुर, ५ मङ्सिर (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।मकवानपुरस्थित समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट पीडित र अन्य नागरिकले पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउन सजक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिड विरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो ।दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले एक अत्याधुनिक एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पतालका रजिष्टार राजेशप्रसाद प्रसार्इंलाई हस्तान्तरण गर्नुभयो ।
यो पनि – बालबालिकालाई फाइजर खोप
काठमाडौं ५ मङ्सिर(रासस) : कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल ह्दयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ । आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पडाइएको उहाँले बताउनुभयो ।
फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् । सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुबै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो ।



प्रतिक्रिया