राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक एवं सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ता बढी

राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक एवं सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ता बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मङ्सिर (रासस) : राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ । यही मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा १५औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन् ।

शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३ मा नेपाललाई फिर्ता गरिएको थियो । नेपाल सम्वत् ७८७ मा मैथिली लिपिमा लेखिएको पौराणिक ग्रन्थमा रहेको गाताचित्र, नेपाल संवत् ८३८ को योग विषयको सिद्धसिद्धान्तपद्धति पुस्तकको गाताचित्रलगायत महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा अभिलेखालयले प्रकाशन गरेका पुस्तक, वार्षिक मुखपत्र अभिलेखका विभिन्न अङ्क बिक्रीमा समेत राखिएको निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो । प्रदर्शनीमा ऐतिहासिक अभिलेख हेर्ने र पुस्तक किन्न अवलोकनकर्ताको रुचि बढेको पाइएको उहाँले सुनाउनुभयो । आजसम्म चल्ने व्यापार मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरिसकेको महासङ्घले जनाएको छ । आज बेलुकीसम्म पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा नेपाली मौलिक हस्तकलाका सामग्री खरिदमा पनि अवलोकनकर्ताको रुचि बढेको पाइएको छ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेकाले पनि यस वर्ष मेलामा अवलोकनकर्ता बढी आएका छन् । मेलामा हस्तकलाका रु पाँच करोडभन्दा बढीको सामग्री बिक्री हुने महासङ्घको अनुमान छ ।

यो पनि – सुनको मूल्य प्रतितोला रु ९३ हजार ७००

काठमाडौँ, ५ मङ्सिर (रासस) : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।