प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मङ्सिर (रासस) : भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ । पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आज पाँच जना मात्रै उपस्थित रहेकाले आवश्यक सङ्ख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरु पनि महाधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको उल्लेख गर्दै सभापति कर्णले अर्को बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको पनि जानकारी दिनुभयो ।

समितिको आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो । सरकारले केही समयअघि नेपालसँग घनिष्ठ सम्बन्ध रहेका भारतका लागि डा शङ्कर शर्मा, अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो । समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।

यो पनि – अस्पतालको स्तरोन्नति र उपचारमा गुणस्तरीयता प्रदान गर्न सरकार प्रतिबद्ध : मन्त्री खतिवडा

मकवानपुर, ५ मङ्सिर (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले छिमेकी राष्ट्र भारत तथा चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड सङ्क्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकारले खोप ल्याउन सुरु गरिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिइएको उल्लेख गर्नुभयो ।

मन्त्री खतिवडाले सङ्घीय सरकारले आगामी चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने क्रममा निर्वाचन आयोगलाई निर्वाचन कार्यतालिका तयारी गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै आवश्यक शान्ति, सुरक्षा र बजेट निकासा दिनेतर्फ प्रयास भइसकेको बताउनुभयो ।

उहाँले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

मन्त्री खतिवडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गरेर गुणस्तरीय स्वास्थ्य उपचार सेवा छिटोछरितो सर्वसाधारण नागरिकलाई उपलब्ध गराउन आह्वान गर्नुभयो । उहाँले हेटौँडा अस्पताललाई सरकारका तर्फबाट अत्याधुनिक सुविधा समावेश भएको एउटा एम्बुलेन्स आजै उक्त अस्पतालका रजिष्ट्रार राजेशप्रसाद प्रसाईँलाई हस्तान्तरण गर्नुभयो ।