नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतका रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदूत बन्न आग्रह गर्नुभएको हो । मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अदितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दूत हुन पाउनु मेरो गौरवको विषय हो ।”
उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन समेत गराउनुभएको थियो । मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मानसमेत गर्नुभएको थियो ।
उक्त योग शिविरमा पूर्व अर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकको उपस्थिति रहेको थियो । योगशिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।
यो पनि – जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै
बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउनुहुने भएको छ । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उहाँको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी ै आत्तुर देखिएका छन् । उहाँको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताउनुभयो ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उहाँलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो ।
अनादी कालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याग) मुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहनुहुन्छ । यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।



प्रतिक्रिया