संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु । नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।” सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ ।

मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।” अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उहाँको भनाइ थियो ।
कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उहाँले बताउनुभयो । कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उहाँले जानकारी दिनुभयो । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो । फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
यो पनि – नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड
क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता अघि बढाउने विषयमा छलफल भएको हो ।
क्षेत्रीय पर्यटन प्रवद्र्धनअन्तर्गत बी टु बी (बिजनेस टु बिजनेस) कार्यक्रम पनि सम्पन्न गरिएको छ । नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफल भएको थियो । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी कात्तिक ३० गते नेपाल आएका थिए । बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी थिए । उक्त टोली आजै स्वदेश फर्किएको छ ।
सोही सन्दर्भमा काठमाडौँमा शनिबार आयोजित ‘टुरिज्म प्रमोसन एन्ड एक्सजेन्ज प्रोग्राम’ सम्बन्धी औपचारिक समारोह तथा बी टु बी कार्यक्रम गरियो । उक्त कार्यक्रममा दुवै देशबीचको पर्यटन प्रवद्र्धन, व्यवसायिक सम्भावना र आगामी सहकार्यबारे छलफल भएको थियो ।सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाल र बङ्गलादेशबीचको पुरानो सम्बन्धलाई सुमधुर बनाउँदै पर्यटन प्रवद्र्धनका साथै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा सहकार्य गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले क्षेत्रीय पर्यटन प्रवद्र्धनको अवधारणाअनुरुप बोर्डले विभिन्न गन्तव्यमा परिचयात्मक भ्रमणको कार्यक्रम बनाएको र यसले दुवै देशबीचको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बङ्गलादेश पर्यटन बोर्डका उपनिर्देशक मोहम्मद साइफुल हसनले दुवै देशको प्राकृतिक सुन्दरता र भौगोलिक विविधतालाई पर्यटनको माध्यमबाट लाभ लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम बनाइनुपर्ने औँल्याउनुभयो ।
पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीदले दुई देशबीचको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै सामूहिक रुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो । उहाँले कोभिड महामारीले थलिएको पर्यटन प्रवद्र्धनका लागि नयाँ सोच र अवधारणाअन्तर्गत क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिइएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको थियो । पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।
नेपाल र बङ्गलादेशबीचको पर्यटन प्रवद्र्धनअन्तर्गत आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिएको उहाँले उल्लेख गर्नुभयो । उक्त कार्यक्रमको हस्पिटालिटी पार्टनर केजीएच ग्रुप, एभरेस्ट होटल, होटल अलफट काठमाडौँ र ¥याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोर्ट पार्टनर रहेको छ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक तथा हिमालय एयरलाइन्स पार्टनर रहेको थियो ।



प्रतिक्रिया