लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी सरकारले काम आगाडि बढाएको छ ।”
मुख्यमन्त्री केसीले प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकताका आधारमा बजेट बनाएको उल्लेख गर्दै सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढीपहिराबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिनुभयो ।
उहाँले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपको व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौँ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ ।” विपक्षी दलले प्रदेशसभामा गरेको अवरोधका विषयमा मुख्यमन्त्री केसीले असान्दर्भिक र लोकतन्त्र विरोधी कार्य भएको उल्लेख गर्नुभयो । उहाँले विपक्षीले आफ्नो मत राख्ने स्थल प्रदेशसभा भए पनि आफैँले अवरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।
उहाँले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै प्रदेशसभा अवरोध गर्नबाट पछि हट्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सरकार आलोपालो चलाउने विषयमा पत्रकारले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भए पनि समयावधिको विषयमा छलफल नभएको जिकिर गर्नुभयो । “पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो”, उहाँले भन्नुभयो । “कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन ।”
यसैगरी मुख्यमन्त्री केसीले बगनासकाली कृषि सहकारी संस्थाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै सहकारीबाट नै मानिसलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नुभयो । सहकारीको माध्यमबाट सरकारसँग सहकार्य गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
प्रतिक्रिया