सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो । तीमध्ये नौवटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा बेच्न नबसेको देखिएको छ ।
प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लाग्नुभएको छ ।
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किनुभएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरूपमा बेन्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।
यो पनि – एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”



प्रतिक्रिया