देशमा गम्भीर प्रतिगमनको खतरा बढेको छ : महामन्त्री सिंह

देशमा गम्भीर प्रतिगमनको खतरा बढेको छ : महामन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको आरोप लगाउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

“मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,” महामन्त्री सिंहले भन्नुभयो, “ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ ।”

महामन्त्री सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउन गठबन्धनभित्र विकल्पहरुको खोजी भइरहेको बताउनुभयो । सर्वाेच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै उहाँले आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताउनुभयो ।

“प्रधानन्यायाधीशका विरुद्धमा न्यायाधीशहरु र बारलगायतको आन्दोलन सही छ । न्यायिक सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउनै पर्छ,” उहाँले भन्नुभयो । न्यायालयमा देखिएको समयमा समाधानका लागि गठबन्धनमा कुरा भइरहेको उहाँको भनाइ थियो । प्रधानन्यायाधीशलाई हटाउन कार्यपालिकासँग धेरै विकल्प नभएको र महाअभियोग मात्र विकल्प रहेको बताउनुभयो । त्यसका लागि गठबन्धनले मात्र पर्याप्त हुँदैन ।