स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री खतिवडाले आज अस्पतालको आकस्मिक कक्ष, आईसीयू र शल्यक्रिया कक्षको निरीक्षण गर्नुभएको हो । सो अवसरमा मन्त्री खतिवडाले भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको उल्लेख गर्दै मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी अस्पतालको सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालमा आवश्यक शय्या र जनशक्तिको दरबन्दी थप गरिदिन मन्त्री खतिवडालाई आग्रह गर्नुभयो ।
सीटीईभीटीले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउन पहल गरिदिनसमेत पौडेलले मन्त्री खतिवडा समक्ष आग्रह गर्नुभएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । निरीक्षणपछि आयोजित कार्यक्रममा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल, अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका प्रवक्ता डा युवानिधि बसौलालगायतले मन्त्री खतिवडालाई सो अस्पतालका बारेमा जानकारी गराउनुभएको थियो ।
यो पनि – नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई आज मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिनुभएको हो । मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गत कात्तिक १७ गते गर्नुभएको थियो ।
भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सीटीईभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिनुभएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ऐन र कानुनबमोजिम तत्काल भर्ना खोल्न निर्देशन दिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
“चिकित्सा शिक्षा र सीटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु”, उहाँले भन्नुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गरेका छन् । ती २४ कलेजमध्ये १७ निजी हुन् भने सात आङ्गिक छन् ।
एसईई लगत्तै भर्ना खोल्नुपर्ने डिप्लोमा कार्यक्रमको नर्सिङबाहेकका अन्य कार्यक्रमको भर्ना भए पनि नर्सिङ कार्यक्रम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । परिषद्का सदस्य–सचिव जीवनारायण काफ्लेका अनुसार मङ्गलबारसम्म सूचना प्रकाशन हुनेछ ।
प्रतिक्रिया