नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी कर्मचारीलाई सङ्गठनको नीति निर्देशन एवं प्रचलित कानुनअनुसार परिचालित भई काम गर्न निर्देशन दिनुभएको छ । हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै उहाँले सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गर्न निर्देशन दिनुभयो । अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रणलगायत विषयमा विशेष चनाखो भई सामूहिक भावनाका साथ काम गर्न सो अवसरमा उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा भाग लिन आजै टर्की प्रस्थान गर्नुभएकाले उहाँले आफ्नो कार्यभार प्रहरी अतिरीक्त महानिरीक्षक शाहीलाई सुम्पनु भएको छ । सो अवसरमा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उच्च व्यावसायिक आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रहरी नायब महानिरीक्षक रविन्द्रबहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायब महानिरीक्षक राजेशकुमारलाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिनुभएको थियो ।
यो पनि – प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड निरीक्षण
प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयकोे आज निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रदेशसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थाका विषयमा पनि जानकारी लिएपछि प्रधानसेनापति शर्माले सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।
भ्रमणका क्रममा महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट र छलफलसमेत गर्नुभयो । प्रधानसेनापति शर्माले सोमबार कालिकोटस्थित शम्शेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्नुहुनेछ । जुम्लास्थित सेनाको नं.२४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको मङ्गलबार निरीक्षण गर्नुहुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया