बैतडी, ६ मङ्सिर (रासस) : बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो ।
जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा सबै दशरथचन्द –६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा परी दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । द्रुत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ ।
यो पनि – कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व
पाँचथर, ६ मङ्सिर (रासस) : नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पु¥याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिनुभएको हो । श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गर्नुभयो ।
जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिनुभएको थियो । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।
श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी हुनुभएको छ । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको थियो । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी हुनुभएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।



प्रतिक्रिया