कर्णाली, ६ मङ्सिर (रासस) : बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो ।” आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक÷एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक÷एक थान रेड÷रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।
सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ ।
यो पनि – किसानलाई बीउ वितरण
कञ्चनपुर, ६ मङ्सिर (रासस) : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।
कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३२५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त रु २० लाख रकममध्ये रु सात लाख र किसानले बेहोरेको रु सात लाख गरी रु १४ लाखमा गहुँको बीउ खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो ।
“किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र वाणगङ्गा जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ । शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने छन् ।
सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ । किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ । नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ ।



प्रतिक्रिया