नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो । यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यो पनि – कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व
नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पु¥याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिनुभएको हो । श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गर्नुभयो ।
जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिनुभएको थियो । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।
श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी हुनुभएको छ । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको थियो । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी हुनुभएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।



प्रतिक्रिया