नमूना भेटेरिनरी अस्पताल निर्माण हुँदै

नमूना भेटेरिनरी अस्पताल निर्माण हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सदरमुकाम दमौलीमा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यसबाट पशु पन्छीको उपचारका लामो दूरी पार गरेर लागि काठमाडौँ, पोखरा र चितवनजस्ता स्थान जानुपर्ने बाध्यतासमेत अन्त्य हुने भएको छ ।

भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हाल पशुविज्ञ केन्द्र भएकै स्थानमा अस्पताल निर्माणकार्य अघि बढाइएको हो । रु १० करोडको लागतमा निर्माण गर्न लागिएको नमूना अस्पताल जिल्लाकै नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त रकममध्ये पहिलो चरणमा रु चार करोड ९० लाख रकम विनियोजन गरी क्रमिक रुपमा निर्माण कामअघि बढाइएको छ । भवन निर्माणको लागि इको बिल्डर्स प्रालि चितवनसँग ठेक्का सम्झौता गरिएको थियो ।अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, युएसजी सेवा र दुई प्रयोगशालासहित २३ वटा कोठा रहने बताइएको छ ।

नयाँ बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवनमा तालिम तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त कर्मचारी आवास कक्ष पनि बनाइने भएको छ । भौतिक संरचना पश्चात् आवश्यकपर्ने उपकरण र दक्षजनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिने उक्त कार्यालयले जनाएको छ । तनहुँ जिल्ला हाल मासु, दूध र अण्डामा आत्मनिर्भर हुनाका साथै बाह्य जिल्लामा समेत निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । “नमूना अस्पताल निर्माण पश्चात् पशुपालन किसानले गुणस्तरीय सेवा पाउने भएका छन् ।” उहाँले भन्नुभयो, “पशुको उपचारका लागि लामो दूरी धाउनुपर्ने समस्या अन्त्य पनि हुने विश्वास गरिएको छ ।”

यो पनि – अठार वर्ष उमेर माथिकालाई खोप

कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा १८ वर्ष माथिका उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । मङ्सिर ११ देखि १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलव्ध भएको छ ।

जिल्ला कोभिड– १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय बमोजिम खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । “भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय कञ्चनपुर र स्थानीय तहमा कोभिसिल्ड, एस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।”

सो दुवै खोप १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रो मात्राको लागि मौज्दातका रुपमा राखिने उहाँले बताउनुभयो । पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ ।

खोप अभियान अन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउनका लागि स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप अभियानको दैनिक निरीक्षण तथा अनुगमनको कार्य जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति, स्वास्थ्य कार्यालय र पालिकाको कार्यालयबाट गरिनेछ ।