काठमाडौँ, ६ मङ्सिर (रासस) : नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित हुनुभएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ ।
शनिबार र आइतबार राजधानीमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा क्रमशः संविधासभा सदस्य मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगरलाई निर्वाचित गरेको सो पार्टीले जनाएको छ ।
महाधिवेशनबाट पारित पार्टीको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतका विषय समावेश गरिएको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञ सम्मिलित एक राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न, संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हकअधिकार थप सुनिश्चित गर्न आवश्यकपर्ने सुधारका लागि संविधान सुधार सिफारिस आयोग गठन गर्न पनि माग गरिएको छ ।
काठमाडौँमा भएको महाधिवेशनको उद्घाटनका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपराष्ट्रपति परमानन्द झालगायत विश्वका विभिन्न देशका राजनीतिक पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गर्दै तराई–मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकाङ्क्षाअनुरूप संशोधन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
यो पनि – अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
कञ्चनपुर, ६ मङ्सिर (रासस) : कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यहाँ १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलब्ध भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णयबमोजिम खोप अभियान सञ्चालन हुन गइरहेको उहाँले बताउनुभयो ।
“भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय र स्थानीय तहमा समेत गरी कोभिडसिल्ड, अस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।” दुवै खोपसमेत १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रोका लागि मौज्दातका रुपमा राखिने उहाँले बताउनुभयो ।
पहिलो मात्रा लगाइ दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ । खोप अभियानअन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउन स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।



प्रतिक्रिया