अठार वर्ष उमेर माथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

अठार वर्ष उमेर माथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ६ मङ्सिर (रासस) : कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यहाँ १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलब्ध भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णयबमोजिम खोप अभियान सञ्चालन हुन गइरहेको उहाँले बताउनुभयो ।

“भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय र स्थानीय तहमा समेत गरी कोभिडसिल्ड, अस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।” दुवै खोपसमेत १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रोका लागि मौज्दातका रुपमा राखिने उहाँले बताउनुभयो ।

पहिलो मात्रा लगाइ दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ । खोप अभियानअन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउन स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

यो पनि – १८ वर्षभन्दा माथिका सबैलाई खोप

काठमाडौँ, ६ मङ्सिर (रासस) : सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नुभयो । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ ।

यसैगरी उहाँले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताउनुभयो । उहाँले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ । फाइजर खोप अभियान भोलिसम्म सञ्चालन हुने छ ।

यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ । यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।